कर्णाली प्रदेश सभामा कांग्रेसको अवरोध

सुर्खेत : नेपाली कांग्रेसका सांसदको अवरोधका कारण कर्णाली प्रदेशको संसद बैठक स्थगित भएको छ । स्थगित भएको दुई महिनापछि सुरु भएको संसद बैठकमा कांग्रेसले फेरि अवरोध गरेपछि बैठक नै चल्न सकेन ।

मंगलबार दिउँसो १ बजे सभामुख राजबहादुर शाहीले बैठक सुरु भएको जानकारी गराउन नपाउँदै कांग्रेसका सांसदले अवरुद्ध गरेका थिए । सभामुख शाहीले बैठक प्रारम्भ गर्नै लाग्दा कांग्रेसका सांसद दिनबन्धु श्रेष्ठले बोल्नका लागि समय माग गरे । त्यसलगत्तै सांसद श्रेष्ठले सरकारको कार्यशैलीप्रति चर्को आलोचना गरे ।

सरकारले हालसम्म पनि बजेटको रातो किताव उपलब्ध नगराएको, अत्यावश्यक विधेयहरु संसदमा पेश नगरेको र संसदलाई विजेनश नदिएर बन्धक बनाएको भन्दै उनले सरकारको जवाफ मागे ।

मुख्यमन्त्रीले नै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्दै कांग्रेस सांसदहरुले उभिएर विरोध गरेपछि संसद बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।

गत साउन २५ गतेदेखि स्थगित संसद बैठक दुई महिनापछि मंगलवार बोलाइएको थियो । लामो अन्तरालमा बोलाइएको संसद बैठकको सुरुवातमा नै कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले भने,‘बजेट पारित भएको चार महिना वित्यो, आजसम्म रातो किताव किन आएन ? हामीलाई बजेटको बारेमा किन सूचना दिइएको छैन, सरकारले संसदलाई बन्धक बनाएको छ ।’

सरकार र मन्त्रीहरु उद्घाटन र गोष्ठीमा रमाउन थालेको भन्दै सांसद श्रेष्ठले संसदलाई विजनेश नदिएर निष्कृय बनाउने काम गरेको आरोप लगाए ।

‘हामीले पारित गरेको बजेट कहाँ गयो ? कस्ता योजना छनौट भए ?’ सांसद श्रेष्ठले भने, ‘हामीलाई तत्काल जानकारी चाहिन्छ, रातो किताव पनि उपलब्ध हुनुपर्छ । सरकारको काम प्रभावकारी भएन, यसको चित्त बुझ्दो जवाफ नआउँदासम्म संसद बैठक चल्न दिन्नौँ ।’

बैठक संचालनका लागि सहयोग गर्न सभामुखले कांग्रेस सांसदलाई पटकपटक आग्रह गरेका थिए । तर कांग्रेसका सांसदहरुले नमानेपछि अन्ततः बैठक नै स्थगित गरिएको हो । मंगलवारको बैठकमा गाउँ तथा नगर सभा संचालन सम्वन्धी विधेयक पारित गर्ने कार्यसूची रहेको थियो । केही दिन बैठक संचालन गरेर संसदको दोस्रो अधिवेशन अन्त्य गर्ने तयारी छ ।

त्यसअघि नै चालु आर्थिक वर्षको बजेट, मन्त्रालयले छनोट गरेका योजना र सरकारका काम कारबाहीबारे संसदलाई जानकारी गराउनुपर्ने माग कांग्रेसले राखेको हो । तर संसद बैठक छाडेर प्रदेश सरकारका मन्त्रीहरु जिल्ला दौडाहमा व्यस्त छन् । मंगलवार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुन मन्त्री नरेश भण्डारी हुम्ला र दैलेखको भ्रमणमा निस्केका थिए । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्री सल्यान पुगेका कारण संसद बैठकमा उपस्थित भएनन् ।

श्रोत http://annapurnapost.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *