‘सबैले बेडसिन मात्रै देखे’

‘सबैले बेडसिन मात्रै देखे’

यति बेला फिल्म ‘कथा काठमाडौं’को चर्चा छ। शुक्रबारबाट नेपालभर प्रदर्शनमा आएको फिल्म विभिन्न कारणले प्रदर्शनअगावै विवादमा तानिएको थियो। विवादको कारण थियो, फिल्मकी नायिका प्रियंका र नायक प्रमोद अग्रहरिको बेड सिन। फिल्मको टे«लर र गीतमा यी दुई कलाकारको इन्टिमेट सिनकै कारण फिल्मले चर्को आलोचना पनि खेप्नु पर्‍यो। यद्यपि फिल्मले महिला हिंसा, लागू औषध दुर्व्यसन, जबर्जस्ती करणीको विषय उठाउन खोजेको र उक्त भूमिका आफ्ना लागि चुनौतीपूर्ण भएको फिल्मकी नायिका प्रियंकाले बताउँदै आएकी छन्। यसै मेसोमा पहिलोपटक फिल्म निर्देशनमा हात हालेकी ‘कथा काठमाडौंमा’की निर्देशक संगीता श्रेष्ठसँग सपना महर्जनले गरेको कुराकानी :

 फिल्म बनाउन कत्तिको गाह्रो हुँदो रहेछ ?       

एकदमै गाह्रो। सुरुदेखि अन्त्यसम्मै गाह्रो भयो।

तपाईंको परिवार र साथीभाइबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?       

मेरो परिवार र साथीभाइ सबैले मलाई एउटै प्रश्न सोधे। के सोचेर तिमीले यत्रो आँट गर्‍यौ ? तर, मलाई अचम्म लाग्यो। यस्तो काम गरेर प्रचारमा आउँछु भन्ने मैले कहिल्यै सोचेकी छैन। मैले त काठमाडौं आइसकेपछि जे जति कुरा देखेँ, जुन कुरा अनुभव गरेँ, तिनै विषय उठान गरेकी हुँ।

काठमाडौंका कस्ता कुराले तपाईंलाई छोयो र त्यसैमा फिल्म बनाउनुभयो ?       

म मिडिया पर्सन पनि हुँ। मिडियाकै कार्यक्रममा हिँड्दा पनि बाहिरबाट परफेक्ट देखिने मान्छेहरूको भित्री कथा डरलाग्दो रहेको पाएँ; जुन बाहिर आउन सकेको थिएन। यस्ता कथा काठमाडौंमा धेरै छन्।

किन महिलालाई नै फिल्मको मुख्य विषय बनाउनुभयो ?       

काठमाडौंका महिला प्रायः आत्मनिर्भर हुन्छन् भन्ने सोचिन्छ तर उनीहरू दोहोरो पीडामा छन्। न उनीहरू आफ्नो दुःख खुलेर बताउन सक्छन्, न त धेरैको ध्यान त्यतातिर जान्छ। बरु गाउँघरमा एउटा घरमा केही भयो भने सबैलाई थाहा हुन्छ तर सहरमा त्यस्तो हुन्न।

 त्यसो भए सहरका आत्मनिर्भर भनिएका महिलाहरू झन् पीडित छन् ?       

एक महिला आफूलाई आत्मनिर्भर ठान्छे भने सबै कुरा सहेर बस्नु हुन्न। यसका लागि आवाज उठाउनुपर्छ। हाम्रो शरीर हाम्रो हो। यसमाथि हाम्रै मात्र अधिकार छ। किन आफ्नै श्रीमान् र केटा साथीबाट बलात्कृत भइरहने।

तपाईंले भनेजस्तै थुप्रै त्यस्ता पात्र होलान् तर तिनीहरू बोल्न चाहँदैनन्। किन ?       

हामी सबैले आइडल मानेका मानिस अझै बोल्न चाहँदैनन्। किनकि उनीहरू आफ्नो इमेज जोगाउन चाहन्छन्। तर मलाई लाग्छ, ती व्यक्तिहरू पनि बोल्नुपर्छ, आवाज उठाउनुपर्छ। मेरो फिल्ममा यही विषय भन्न खोजिएको छ।

 तपाईं आफैं मिडियाकर्मी हुनुहुन्छ। अहिले मिडियाले नै तपाईंको कामको आलोचना गरिरहेछ। के भन्ननुहुन्छ ?       

मलाई अचम्म लागिरहेको छ। हिजोसम्म म मिडियाभित्र बसेर फिल्म उद्योगलाई हेर्थें, आज म बाहिर आएको छु। यसरी हेर्दा थाहा पाएँ, कतिपय कुरा हामी मिडियाकर्मीले पनि नबुझेका रहेछौं। हामी कुनै विषयलाई नबुझीकन मिडियामा उतार्छाैं भने त्यसको प्रभाव कतिसम्म हुँदो रहेछ भन्ने कुरा मैले भोगिरहेको छु।

 तपाईंको फिल्मको बेडसिनले त तहल्का मच्चायो नि ?

सबैले बेडसिन मात्र देखे तर त्यहाँ एउटी केटी कुन पीडामा गुज्रिरहेकी छे भन्ने देखेनन्। त्यो दृश्य लभ मेकिङ सिन बिल्कुल थिएन। त्यहाँ ह्याप्पिनेस थिएन। त्यहाँ एउटा केटा एउटी केटीमान्छेप्रति यति हावी भएको छ, त्यो अलमोस्ट रेप नै हो। खै किन हो हामी मिडियाकर्मीले पनि त्यो पाटोलाई देखेनौं।

निर्देशकका रूपमा एक महिलाले अर्को महिलाई फिल्ममा यसरी प्रस्तुत गर्न कत्तिको गाह्रो भयो ?

म महिला भएकैले त्यो दुःख देखाउन सकेँ। हुन सक्छ, एउटा केटा निर्देशकले त्यो देखाउन सक्दैनथ्यो कि। म केटी भएकैले अर्को केटीको पीडा कस्तो हुन्छ बुझ्न सक्छु। मैले त्यो पीडा महसुस गरेरै फिल्ममा उतारेकी हुँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *