आँधीले १७ अमेरिकीको मृत्यु

मेक्सिको सिटी : अमेरिकामा माइकल ‘आँधी’बाट कम्तीमा १७ जनाको मृत्यु भएको छ। खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अमेरिकी अधिकारीले बताएका छन्।आँधीले फ्लोरिडा राज्य र त्यस वरपर ठूलो क्षति गरेको छ।

फ्लोरिडा राज्यका गभर्नर रिक स्कटले मेक्सिको बीच पूर्ण रूपमा उजाड भएको’ बताए। बुधबार यहाँ चौथो वर्गीकरणमा राखिएको विशाल आँधीले छोपेको थियो। ‘यहाँ त बम पड्किएझैं भएको थियो’, स्कटले भने। करिब एक हजार मानिस अझै बसिरहेको उक्त ठाउँको स्थलगत भ्रमण गरेर फर्किएपछि उनले यो युद्धग्रस्त क्षेत्रजस्तै भएको देखिएको बताए।

उद्धार टोलीहरूले शुक्रबार मेक्सिको बीचमा मानिस पत्ता लगाउने कुकुर समेत साथै लिएर खोजी गरिरहेका थिए। अमेरिकी सञ्चारमाध्यमले सहरमा एक वृद्धको मृत्यु भएको खबर प्रशारण गरेका थिए। ती वृद्ध व्यक्तिको शव घरबाट धेरै टाढा भेटिएको थियो।

संघीय आपत्कालीन व्यवस्थापन निकाय (फेमा) का प्रमुख ब्रक लङले मृतक व्यक्तिको संख्या अझ बढ्न सक्ने बताए। ‘मेरो आशा धेरै मानिसको मृत्यु नभए राम्रो हुने थियो तर परिस्थिति हेर्दा ज्यादै प्रभावित क्षेत्रमा खोजी कार्य बाँकी नै रहेकाले अरू केही व्यक्तिको मृत्यु हुन सक्ने खतरा छ’, उनले भने।

मेक्सिको बीचका दर्जनौं घर, पसल र रेस्टुराँको जग उखेलिएको र त्यसलाई २५० किमी प्रतिघण्टाको बेगिलो हावाले उडाएर सयौं फिट टाढा पुर्‍याएको वा धुलोपिठो पारेको पाइएको छ। लङले भने, ‘आँधीको वितण्डाका बारेमा बताउने त्यहाँ वरपर मानिस समेत भेटिएका छैनन्।’ स्थानीय अधिकारीहरूका अनुसार मेक्सिको बीचमा मानिसलाई अनिवार्य रूपमा घर छाड्न आदेश दिइएको थियो तर केही मानिस अटेर गरेर घरमै बसेका थिए।

फ्लोरिडाका सिनेटर मार्को रुबिओले भने, ‘अन्तिम क्षणमा केही मानिस घर छाडेर बाहिर निस्केका वा अन्यत्रै गएका हुन सक्छन्।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले आँधी प्रभावित फ्लोरिडा र जर्जियाको भ्रमण गर्ने जानकारी दिएका छन्। ‘मानिसहरूलाई जर्जियामा माइकल आँधीले कति प्रभावित तुल्यायो भन्ने समेत थाहा छैन’, ट्रम्पले ट्विट गर्दै भने, ‘म अर्को साताको शुरुमै फ्लोरिडा र जर्जिया जाँदै छु।

हामी सबै ठाउँमा काम गरिरहेका छौं। हामी तपाईंहरूकै साथमा छौं।’ फ्लोरिडा प्यानह्यान्डलमा सन् १८५१ पछि यसपटकको ‘माइकल’ आँधी सर्वाधिक विनाशकारी रहेको बताइएको छ।

पेन्टागनका अनुसार करिब पाँच हजार सैनिक र प्रहरीलाई राहत र उद्धारका लागि खटाइएको छ। यहाँ १ सय हेलिकप्टर र १ हजार ८ सय डुंगा पनि परिचालन गरिएको छ। फ्लोरिडा र यसको छिमेकी दुई राज्यका ४ लाखभन्दा बढी घर विद्युतविहीन भएका छन्। ती क्षेत्रमा बिजुलीको व्यवस्थाका लागि विद्युत् सेवाका करिब २० हजार कर्मचारीलाई खटाइएको उक्त कार्यालयले जनाएको छ।
एफपी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *