साफ यू–१८ महिला फुटबल : भारतसँग भिड्दै नेपाल

काठमाडौं : साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपालले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्दै छ। भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ स्टेडियममा हुने खेल स्थानीय समयअनुसार दिनको ३ः३० बजे सुरु हुनेछ। समूह ‘बी’को उपविजेता बन्दै प्रतियोगिताको अन्तिम चारमा पुगेको नेपालले सेमिफाइनलमा समूह ‘ए’को विजेता टोली भारतलाई प्रतिद्वन्द्वी पाएको हो।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले पहिलोपटक आयोजना गरेको उक्त प्रतियोगितामा नेपालले उपाधि जित्ने योजना बनाएको छ। यद्यपि उपाधिसम्म पुग्नुअघि सेमिफाइनलमै भारतको चुनौतीलाई पन्छाउनुपर्ने भएको छ। समूहगत चरणको प्रदर्शनका आधारमा भारत केही बलियो देखिएको छ। भारतले समूहगत चरणका दुईमध्ये पहिलो खेलमा आयोजक भुटानलाई ४–० र दोस्रो खेलमा माल्दिभ्सलाई ८–० गोलको भारी अन्तरले पराजित गरेको थियो।

पहिलो खेलमा पाकिस्तानलाई १२–० गोलले पराजित गरेको नेपालले भने दोस्रो खेलमा बंगलादेशसँग २–१ गोलले हराएको थियो। त्यसैले नेपालले फाइनलको यात्रा तय गर्दै उपाधिको सम्भावना जीवित राख्न शुक्रबारको खेलमा निकै मेहनत गर्नुपर्नेछ। भारतको बलियो आक्रमण रोक्न र गोल गर्दै अघि बढ्न पनि नेपाली स्ट्राइकर र मिडफिल्डरले उत्तिकै सशक्त प्रदर्शन गर्नु आवश्यक छ। नेपाली टोलीले भारतसँग प्रतिस्पर्धा गर्दा आफ्नो मनोबल पनि उच्च बनाउनु आवश्यक देखिन्छ।

नेपाली टोली कुनै पनि स्तरको प्रतियोगितामा भारतसँग प्रतिस्पर्धा गर्दा मानसिक रूपमा निकै कमजोर देखिने गरेको छ। त्यसैले पनि राम्रो प्रदर्शन गर्दासमेत नेपाली टोली भारतसँग पछि पर्दै आएको छ। शुक्रबारको खेलमा आफ्नो मनोबल उच्च बनाउन सके नेपालले भारतलाई पराजित गर्दै फाइनलसम्मको यात्रा तय गर्ने सम्भावना छ। शुक्रबार साँझ ७ बजे सुरु हुने दोस्रो सेमिफाइनल खेलमा भने आयोजक भुटानले बंगलादेशको सामना गर्नेछ।

स्रोत http://annapurnapost.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *