अनुभव- सेक्स फ्रि भए धेरैले बिहे गर्दैनथे

सन्ध्या क्षेत्री/धरान

कोशी अन्चलको एउटा पहाडी जिल्लामा आजभन्दा २९ वर्षअघि म जन्मिएँ, एउटा निम्नमध्यम वर्गीय परिवारमा । त्यहीँको सरकारी स्कुलबाट एसएलसी दिएँ । त्यहीबेला अभिभावकले आफूभन्दा १५ वर्ष जेठो पुरुषसँग बिहेको निर्णय गरिदिए । त्यसबेला म सोह्र पुगेर सत्र मात्र टेकेकी थिएँ ।

मनमा धेरैथोक गर्ने रहर थिए । मलाई उक्त पुरुषसँग बिहे गर्ने पटक्कै मन थिएन । तर आमाबुबालगायत परिवारका अगुवा अभिभावकहरु समेतको दवावको अगाडि मेरो केही लागेन । मुटुमा गह्रौं ढुङ्गाले थिचिएर म त्यो पुरुषको घर जान बाध्य भएँ । कलिलो मन मष्तिष्कले कडा प्रतिवाद गर्न नसकेपछि लुरुलुरु पराइ घर जान बाध्य भएँ ।

मेरा पनि थुप्रै सपना, इच्छा र चाहनाहरु थिए । उक्त पुरुषले ती इच्छा, चाहना र सपनाहरु पूरा गर्न केहीहदसम्म भए पनि सहयोग गर्ला भन्ने विश्वास थियो, जुन आममहिलाहरुलाई हुने गर्छ । तर अग्नीलाई साक्षी राखेर सँगै मर्ने र सँगै बाँच्ने कसम खाएका पतिले दोस्रो रातदेखि नै बलात्कार गर्न थाले । मलाई इच्छा होस् वा नहोस् उनलाई कुनै मतलव हुँदैन थियो । उनी ब्वाँसाले सिकारलाई झम्टिएझैँ झम्टिएर आफ्नो उन्माद शान्त पार्ने काम मात्र गर्दथे । चूपचाप सहनुबाहेक मसँग कुनै विकल्प थिएन ।

त्यस्तै रीतले दुई वर्ष बित्यो । कुनै रातको झम्ट्याईबाट मेरो पेटमा उनको विजारोपण भयो ? मलाई थाहा छैन । थाहै नपाई म दुइजीउकी भएँछु ।

सुनेकी थिएँ, श्रीमती दुई जीउकी भएपछि जस्तै भए पनि पुरुषहरुमा दया पलाउँछ । तर मेरो हकमा त्यो कुरा मिथ्या सावित भयो । त्यस्तो अवस्थामा पनि उनको दया म माथि परेन, रात दिनको कुटाई र लुछाइबीच निकै कष्टका साथ छ महिना बिताएँ ।

त्यसपछि भने सँगै बस्ने आँट आएन । अब पनि उनीसँगै बस्ने हो भने म र मेरो पेट भित्र हुर्कँदै गरेको अवोध भु्रणले यो धर्ती देख्न पाउनेछैन भन्ने शंकाले सतायो । म निदाउन सक्न छोडेँ । त्यसपछि एकदिन माइती गएर बस्न बाध्य भएँ । माइतमै मेरो कोखबाट जुम्ल्याहा छोरीको जन्म भयो ।

बुबाआमाले म सुत्केरी भएको बताएर न्वारानका लागि आइदिन खबर पठाउनु भएछ । सुत्केरी भएको खवर पाएपछि त उनी आउँछन् र उनको मायाले मलाई केही राह्रत हुन्छ भन्ने झिनो आशा थियो । तर उनले जुम्ल्याहा छोरी जन्माएको रिसमा त्यही बेला अर्की पो भित्रयाएछन् ।

एउटी नारीलाई सुत्केरी अवस्थामा लोग्ने तथा परिवारका सदस्यहरुको कति माया र ममताको खाँचो पर्दछ, प्रशवपीडा सहिसकेका नारीलाई थाहा हुने कुरा हो । त्यस्तो बेलामा लोग्नेले सौता हाल्छ भने कुनचाहिँ नारीले सहन सक्लान् ? मन र मुटु कमजोर भएकाले त आत्माहत्या नै गर्लान् । तर मैले इख राखेर त्यस्ता लोग्नेहरुलाई आफ्नै खुट्टामा उभिएर देखाउनु पर्छ भन्ने अठोट लिएँ । सौता हालेपछि मैले सयौं रात दिन आँसुको भेलमा डुबेर बिताए पनि आत्महत्या गरिनँ ।

म जन्मदै दाँत पलाएकी मान्छे हुँ । जन्मिदै दाँत पलाएका सन्तानले आमाबाबु टोक्छन् भन्ने अन्धविश्वास रहेछ । त्यसैले म जन्मिएपछि बुबाआमाहरु साह्रै दुःखी र चिन्तित हुनुभएछ । र, त्यो चिन्ता हटाउन त्यही दिन परम्पराअनुसार गाउँको एकजना गरिव बुढो मानिसलाई बोलाएर “आजदेखि यो छोरी तेरी भई” भनेर टीको लगाइदिनु भएछ । त्यसो गर्दा जन्मिदै दाँत उमि्रने बालकको भाग्य अन्यत्रै सर्छ र त्यसका कारण उत्पन्न हुने कष्ट सहनुपर्दैन भन्ने अन्धविश्वास रहेछ । यदि त्यो भनाई सत्य भए म अहिले यति उमेर भइसक्दा पनि मेरा आमाबुबा हट्टाकट्टा नै हुनुहुन्छ । बरु हजुरबा र हजुरआमा समेत दीर्घायू हुनु भएको छ । मलाई लाग्छ, अलच्छिनी भनेर जन्मेकै दिन अर्कालाई टीका लाएर मेरा बाउआमाले दोष मेटाउने नाममा मेरो भाग्य मेटाइदिएका रहेछन् । नत्र यस्तो अवस्थामा मैले यस प्रकारको दानवीय व्यवहार कसरी सहन पर्दथ्यो ? मलाई त्यसबेला यो कुराले बारम्बार सताइरहन्थ्यो ।

मैले आत्महत्याको सोच नगरेकी हैन तर आफ्नो मनलाई बुझाएँ । बिहे भएको हप्ता दिन नबित्दै लोग्नेको मृत्यु भएका नारीहरु पनि आत्महत्या नगरी बसेका छन् भने मैले किन गर्ने ? म पनि पुरुषविना कसो बाँच्न नसकूँला भनेर मन दह्रो पारेर ऊसँग छोडपत्र गरेँ । र, मैले जन्माएका छोरीलाई आफैँले लिएँ । मेरी सौता र लोग्ने भनाउँदोलाई स्वतन्त्रता दिँदै म पनि स्वतन्त्र भएकी हुँ ।

अहिले मेरो परिवारको सहारा भनेका तिनै छोरीहरु हुन् र उनीहरु नै मेरो लागि बाँच्ने आधार पनि । सायद छोरी नजन्मी मैले सौता सहनु परेको भए त्यसैबेला देह त्याग्थेँ होला । धन्य छन् Û मेरा छोरीहरु, जसले गर्दा म बाँचेर यतिन्जेलसम्म संसार हेर्न पाएकी छु ।

छोरीहरुलाई स्तनपान गराउने दुई वर्षसम्म त मलाई त्यस्तो कुनै वास्ता थिएन । पुरुषहरुको रुप र छायाँसम्म पनि देख्न नपरोस् भन्नेजस्तो लाग्थ्यो । आखिर म पनि त नारी हुँ । यौन पनि त भोक, प्यास जत्तिकै प्रकृतिको उपहार रहेछ । यो आवश्यक थिएन भने किन सृजना भयो ? यस्तै कौतुहलता र ममा परिपक्व हुन थाल्यो । चढ्दो बैंसले बलिष्ठ पुरुषको आवश्यकता महसुश गर्नु अस्वाभाविक थिएन । कुनै राम्रा पुरुष देख्दा म भित्र एकाएक यौन सम्पर्क राख्ने चाहना पलाएर आउँथ्यो । तर भन्न सक्दिनथेँ । गाउँकी सोझी मान्छे, कसरी मनका कुरा प्रकट गर्न सकोस् ?

एकातिर विगत सम्भिmदा लाग्ने कहालिलाग्दो पुरुषको साथले मलाई घृणा जागेर आउँथ्यो र अहिले पनि यद्यपि छँदैछ । त्यस बीचमा मलाई छोरीसहित नै श्रीमतीको रुपमा भित्राउँछु भन्ने आदर्श पुरुषहरु पनि मेरो हात माग्न नआएका हैनन् । तर उनीहरुले जति नै आदर्श छाँटे पनि त्यो दीर्घकालीन अवस्य हुँदैन भन्ने जस्तो लाग्थ्यो । बिहे गरेँ भने कुनै दिन मैले पहिलेकै अवस्थामा र्फकन नपर्ला भन्ने के ग्यारेन्टी र ? भन्ने जस्ता प्रश्नहरु मनमा उब्जिन्थे । त्यसैले मैले त्यस्ता आदर्शवादी पुरुषहरुको पनि विश्वास गर्न सकिनँ र उनीहरुको क्षणिक साथ लिँदै स्वतन्त्रतापूर्वक एक्लै जिउने निर्णय गरेँ ।

आखिर पुरुषले चाहिँ घरमा पतिव्रता श्रीमतीको विश्वासलाई लात मार्दै दशौँ जना महिलासँग सल्किन हुन्छ, त्यसलाई यो समाजले पचाउँछ । तर त्यही काम महिलाले गरी भने त्यही समाजका मानिसहरुले उसको कुरा काट्छन् । बाटोमा हिँड्दा पनि कर्के नजरले हेर्छन् । उसले वेश्याको संज्ञा पाउँछे । हाम्रो यो कस्तो समाज ? सम्झिदा पनि रिस उम्लिएर आउँछ ।

मेरो स्वतन्त्र जीवनमा स्वतन्त्रतापूर्वक नै माया र प्रेम दिनेहरु धेरै भेटेकी छु । मलाई जसले बढी माया र सन्तुष्टि दिन्छ । ऊसँग प्रेम साट्न मलाई कसैले रोकेको छैन र रोक्न सक्दैन । संसारमा कोही कसैको हैन, केवल भ्रम मात्र हो । फगत एक्लै जन्मिएका हामी मर्दा पनि एक्लै नै मर्ने हौ । अनि किन यो यसको, त्यो उसको भन्ने ? सबै सबैको हो, कोही कसैको हैन । मेरो सिद्धान्त यही हो । दुई दिन बाँचुन्जेल सबैलाई प्रेम गर्नु होस् । मनले खाएका र विश्वास गर्न सक्नेहरुसँग गहिरो माया साट्नु होस् । समाज, घर र परिवारलाई डिस्टर्व गर्नु हुँदैन ।

चलाउन जान्यो भने जीवन सरल छ, जानेन भने त्यही कहालीलाग्दो हुन्छ । त्यसैले कुनै पुरुष वा महिलासँग निकटता बढ्नासाथ भन्ने गर्छु- “जीवनमा सबैथोक गर तर घर व्यवहारचाहिँ नबिगार ।” मेरो यो भनाई पुरुषहरुलाई आफू नजिक ल्याउने माध्यमसमेत भएको छ । यही भनाईका कारण मलाई ग्राहकहरुले पहिलो पटकमै विश्वास गर्छन् । त्यसैले ग्राहकको खोजीमा मैले अरुजस्तो भौतारिनु पर्दैन ।

म अहिले स्वतन्त्र जीवनबाट पूर्णसन्तुष्ट छु । इच्छा लागेका पुरुषहरुलाई साथी बनाउँछु । इच्छा लागेको ठाउँ घुम्न जान्छु । इच्छा लागेको खानेकुरा खान्छु । मलाई जाँड, रक्सी र लागु पदार्थको कुलती पटकै मन पर्दैन । मेरा साथीहरु पनि भरसक कुलतबाट टाढै रहने पाएकी छु । कुलतमा फँसेकाहरुलाई पनि सुधार्ने प्रयत्न गर्छु र सुधि्रएकाहरुलाई देख्दा मलाई ज्यादै ठूलो आत्मसन्तुष्टि मिल्छ ।

मेरा साथीहरु काठमाडौ, पोखरा, हेटौडा, सुर्खेत, वाग्लुङ, लहान, विराटनगर, वीरगन्ज, इलाम, विर्तामोड, सिक्किम, दार्जिलिङ, पटना, कलकत्ता त कोही दिल्लीसम्म छन् । सबैतिर छरिएर रहेका साथीहरुबाट उत्तिकै माया र प्रेम पाएकी छु । उनीहरुलाई भेट्न जाँदा एक ठाउँमा एक हप्ता बिताएँ भने पनि वर्षभरिमा सबैतिर घुमी सकिँदैन ।

मेरा साथीहरुमध्ये एउटाले त छोरीहरु पढाउनका लागि खर्च समेत व्यहोरिदिने भएको छ । अर्को वर्षदेखि म उनीहरुलाई कालिङपोङतिरको स्कुलको होस्टलमा राखेर पढाउने विचारमा छु । उनीहरुलाई सम्पत्ति होइन, शिक्षा दिएर आत्मनिर्भर बनाउने पक्षमा छु ।

यौन सम्पर्कको मामलामा मलाई भारतीय साथीहरु बढी हेन्डसम लाग्छन् । हल्का कालो वर्ण, चिल्लो अनुहार अनि वलिष्ठ छात्ती र पाखुरा -ओ हो कुरै नसम्झाउनोस् । उनीहरुबाट पाउने माया, प्रेम र सन्तुष्टिका त वर्णन नै कसरी गरुँ ? त्यसैले मलाई प्रायः भारतीय साथीसँग मित्रता गाँस्न मन लाग्छ । उनीहरु बडो दिलवाला हुन्छन् क्या.. ।

हेर्नोस्, गिजाभरि दाँत हुँदामात्र मकै चपाउन सकिन्छ । दाँत फुक्लिएर थोतो भएपछि अरुले मकै चपाएको हेरेर र्‍याल काढ्नु राम्रो हैन । उमेर र बैंसमै स्वाद लुट्नु राम्रो हो । उमेर र बैंस सकिएपछि योगी भएर कपाल खौरिएर कुटीमा बसौला नि ! नेपालमा सेक्स पि|m भएमा सायद धेरैले विवाह गर्दैनथे । क्षणिक सुख र आनन्दका लागि विवाह गर्ने अनि पारिवारिक जन्जालमा फँस्ने रहर कमलाई मात्र हुन्छ । सेक्स बन्देज भएका कारण मजस्ता स्वतन्त्र मानिसले आफ्ना यौन साथीहरुसँग आफ्नो घर, डेरा त परै जावस् सहरको गेष्टहाउसमा समेत यौन आनन्द लिन कठिन हुने गरेको छ । यसै कारण एक रातको सुखको लागि पनि लामो यात्रा गर्नुपर्ने बाध्यता छ । स्वतन्त्रता चाहनेहरुका लागि स्वतन्त्र रुपमा रमाउने वातावरण सरकारले दिनु पर्छ भन्ने मेरो मान्यता र अनुरोध छ ।

एकफेर पाएको जिन्दगी फेरि पाइएला कि नपाइएला के थाहा ? तर अर्को जुनीमा त मलाई मानिस भएर जन्मिन मन नै छैन । हे भगवान ! मलाई मानिसको रुपमा अर्को जुनी नदेऊ ।

प्रस्तुति- केपी भट्टराई

श्रोत onlinekhabar.com/2014/01/156872

Leave a Reply

Your email address will not be published. Required fields are marked *