युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल

इटालियन सिरी ए युभेन्टसको अपराजित यात्रामा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन्।

घरेलु मैदान आलियान्ज रंगशालामा सिरी ए अन्तर्गत शनिबार युभेन्ट्सले साम्पडोरियालाई २-१ ले हराएको हो।

खेलको दोस्रो मिनेटमै रोनाल्डोले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

खेलको ३३ औं मिनेटमा पाहुना टोलीले पेनाल्टीमार्फत खेल बराबरीमा ल्यायो। कर्नर बलमा एम्रे च्यानले ह्याण्ड गरेपछि रेफ्रीले साम्पडोरियालाई पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीलाई फाबियो क्वाग्लीआरेल्लाले गोलमा परिणत गरेका थिए।

पहिलो हाफ १-१ को बराबरीमा सकिएपछि दोस्रो हाफमा युभेन्टसले थप आक्रमक खेल्यो।

खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए।

युभेन्टसका मिरालेम प्यानिचले प्रहार गरेको कर्नरमा साम्पडोरियाका एलेक्स फरारीले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

त्यसपछि युभेन्टसका केही कडा प्रहारहरू गोलरक्षक एमिल औडेरोले बचाएका थिए।

साम्पडोरियाले दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा बराबरी गोल फर्काएको थियो। तर, भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोगले उक्त गोल मान्य नभएपछि युभेन्टसले खेल २-१ ले जित्यो।

यस नतिजासँगै युभेन्ट्सले लिगका १९ खेलसम्म अपराजित यात्रा कायम राखेको छ। उसले खेलेको १९ खेलमध्ये १७ मा जित र २ बराबरीसँगै ५३ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ। दोस्रो स्थानको नापोलीको समान खेलबाट ४४ अंक छ। यो सँगै युभेन्टसले शीर्षस्थानको अग्रता ९ अंकमा कायमै राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *